रुपन्देही । लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ। गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न सोमबार बोलाइएका थियो।
प्रमुख प्रतिपक्षी एमालेले बैठकको पहिलो सत्र अवरुद्ध गरेको थियो भने दोस्रो सत्र बहिष्कार गरेको थियो। अर्को बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ। प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो।
प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै बैठक चल्न नदिने बताए। उनले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको थियो ।
एमालेले नाराबाजी जारी राखेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। दोस्रो सत्रको बैठक पनि एमालेका सदस्यहरुले बहिष्कार गरेका थिए। त्यस अवसरमा बोल्ने प्रदेशसभाका सदस्यहरुले बैठक अवरुद्ध नगर्ने वातावरण मिलाउन सभामुखसँग आग्रह गरेका थिए।
सोमबार नै प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश, २०७८ पेस भएको छ ।