काठमाडौं, – नेपाली मुस्लिम तीर्थयात्रीहरूको हज यात्रा सुरक्षित र सहज बनाउन नेपाल उद्योग वाणिज्य महासंघले नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ। काठमाडौंको टेकुस्थित महासंघ सचिवालयमा आयोजित एक समारोहका बीच महासंघका कोषाध्यक्ष भरतराज आचार्य र कार्यकारिणी सदस्य जमशेर मियाँले हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँ र सदस्य सचिव झंकनाथ ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो।
हस्तान्तरण गरिएको सामग्रीमा सामान्य रोगहरूका लागि आवश्यक औषधिहरू, प्राथमिक उपचार सामग्री, मास्क, स्यानिटाइजर, थर्मोमिटर लगायतका सामग्री समावेश छन्।
कार्यक्रममा बोल्दै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले हज यात्रुहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो सहयोग गरिएको जानकारी दिनुभयो। उहाँले यस्तो सामाजिक उत्तरदायित्वप्रति महासंघ सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
त्यसै कार्यक्रममा बोल्दै महासंघका कार्यकारिणी सदस्य जमशेर मियाँले हज यात्रालाई सुरक्षित बनाउन महासंघको भूमिका सकारात्मक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हज यात्रा केवल धार्मिक यात्रामात्र नभई अनुशासन, धैर्यता र एकताको यात्रासमेत हो। तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षित राख्न महासंघबाट गरिएको सहयोग मेरो लागि गौरवको कुरा हो। यो सहयोगले यात्रुहरूमा आत्मबल बढाउनेछ र राष्ट्रको प्रतिष्ठा पनि उच्च बनाउनेछ।”
जमशेर मियाँ स्वयं पनि यस वर्ष हज यात्रामा सहभागी हुँदै हुनुहुन्छ। उहाँलाई महासंघले विशेष सम्मानसहित विदाईसमेत गरेको थियो। महासंघभित्र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै काम गर्ने युवाको उदाहरणका रूपमा जमशेर मियाँको भूमिका विशेष रूपमा उल्लेख गरिएको थियो।
हज समितिका कार्यवाहक अध्यक्ष जबल मियाँले महासंघको सहयोगप्रति आभार प्रकट गर्दै यस्तो योगदानले यात्रुहरूमा सुरक्षा र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो।
हज समितिका सदस्य सचिव झंकनाथ ढकालका अनुसार, यो वर्ष नेपालबाट १,१७१ जना मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्का–मदीना हज यात्रा गर्न जानेछन्।
यस प्रकारको सहयोगात्मक पहलले धार्मिक यात्रालाई मात्र नभई सामाजिक सद्भाव र सहकार्यलाई समेत मजबुत बनाउने विश्वास लिइएको छ।



















