बिष्णु खनाल । डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा जलवायु परिवर्तन अनुकूल मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र गण्डकी जलाधार जलवायु उत्थानशीलको समन्वयमा सामुदायिक वनका पदाधिकारीसँग छलफल कार्यशाला गोष्ठी गरिएको हो ।
डिभिजन वन कार्यालयको सभा हलमा भएको गोष्ठीमा जलवायु परिवर्तनले वन्यजन्तुको बासस्थानमा कमी आएको र त्यसको असरले उत्पन्न हुने मानव–वन्यजन्तुबीच हुने घटनाका विषयमा सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले तथ्यांक प्रस्तुत गर्दै यसको दीर्घकालीन समाधानको आवश्यकताका विषयमा प्रष्ट्याउनु भएको थियो ।
गोष्ठीमा वन्यजन्तुहरूका लागि सुरक्षित मार्ग, जनचेतना अभिवृद्धि तथा पूर्वतयारीका योजना निर्माण लगायतका विषयमा छलफल समेत भएको थियो । गोष्ठीमा गण्डकी जलाधारका संयोजक डा. राजन प्रसाद पौडेल, डा. अर्जुन थापाले जलवायु परिवर्तनका कारण द्वन्द्व बढ्दै गइरहेको तथ्यांक प्रस्तुत गर्दै यसको दीर्घकालीन समाधानको आवश्यकताका बारेमा प्रशिक्षण दिनुभयो ।

गण्डकी जलाधार जलवायु उत्थानशीलले जलाधार क्षेत्रका समुदाय र स्थानको सुधार गर्न, लघु सिंचाइ तथा थोपा सिंचाई, वृक्षारोपण लगायतका कामहरु गरिरहेको छ । यो अभियान गण्डकी जलाधार क्षेत्रमा पर्ने बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका २० जिल्लामा लागु भएको छ ।
कार्यशाला गोष्ठीमा सहभागिको तर्फबाट चन्द्रा गैरे र लक्ष्मण पराजुलीले मन्तव्य राख्नुभयाे । सिनियर वन डिभिजन अधिकृत मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र लक्ष्मण कुँवरको संचालनमा सम्पन्न भएको हो ।












