बिष्णु खनाल, पाेखराथाेक । पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आ.व. २०८१/०८२ को तेस्रो तथा अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको वडा नं. २, पोखराथोकमा रहेको हरिहर संस्कृत शिक्षा क्याम्पसमा वडा नं. १, २ र ३ लाई लक्षित गरि भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले चालु आर्थिक वर्षमा भएकाे कामकाे समीक्षा र आगामी आर्थिक वर्षका लागि रचनात्मक सुझाव/जिज्ञासा राखेका थिए ।
कार्यक्रमको अध्यक्ष तथा प्रमुख जवाफदेही वक्ता गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले सेवाग्राहीबाट आएका सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गर्दै जाने बताउनुभयो । उहाँले पालिकाबासीको मागलाई सम्बोधन गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले अनावश्यक भ्रमण कार्यक्रमलाई रोक्ने पालिकाले नीति ल्याएको भन्दै प्रतिफल नदिने खालका तालिमलाई आगामी आर्थिक वर्षमा अगाडि नबढाउने धारणा राख्नुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले गाउँपालिकाले अगाडि सारेका हरेक योजनाहरूको मुल्यांकन र अनुगमनलाई तीव्रता दिदैँ आइरहेको बताउनुभयो । उपाध्यक्ष पौडेलले सेवाग्राहीबाट प्राप्त भएका सुझावलाई सम्पत्तिको रुपमा ग्रहण गर्दै आगामी वर्षमा हरेक योजना/आयोजनाको मुल्यांकन र अनुगमन गर्ने कार्यलाई अझ बढी प्राथमिकतामा राख्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पाणिनीलाई शुसासनमैत्री र सेवामुखी बनाउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालयबाट चुस्तदुरुस्त रुपमा सेवा प्रवाह भइरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कर्मचारीबाट कुनै अभद्र, अमर्यादित र कन्जुसाई गरेमा जानकारी गराउन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतम, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष गणेश खनाल लगायतले कृषक हरेक मागकाे सम्बाेधन गर्नुपर्ने बताउँदै सुझाव मन्तव्य राख्नुभयो ।
बोर्डरलेस मिडिया हर्व प्रा.लि.को सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले राखेका प्रश्न, जिज्ञासा र गुनासाको अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडाध्यक्षहरू कमल प्रसाद पोखरेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, कृषि शाखा प्रमुख मेगराज पौडेलले जवाफ दिनुभयो । कार्यक्रममा सयौं सेवाग्राहीको उपस्थिति रहेको थियो ।

कार्यक्रम भिमलाल विश्वकर्माकाे सञ्चालन सम्पन्न भएको थियो ।











