बिष्णु खनाल । सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले आ.व.२०८१/०८२ मा सम्पन्न गरेका आयोजना र आगामी योजनाका बारेमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
कार्यालयले गत आ.व.मा १ अर्ब २ करोड ३६ लाख बराबरको बजेट विनियोजन भई १ सय ८७ वटा आयोजनाहरूको कार्यान्वयन जिम्मेवारी प्राप्त गरेको थियो । उक्त बजेटबाट १ सय ४५ वटा सडक आयोजनाहरूको सडक विकास कार्यालयले निर्माण कार्य सम्पन्न गरेको छ भने ११ वटा सडक र पुल आयोजनाहरू निर्माणधीन अवस्थामा रहेका छन् । त्यसैगरी ९ वटा बहुवर्षीय सडक, सडकपुल तथा झोलुङ्गे पुलको बोलपत्र आह्वान समेत भइसकेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा सडक तर्फ २७.६३ कि.मि. कालोपत्रे, २७.६३ कि.मि. सडक ग्राभेल, ३१ कि.मि. सडक विस्तार गरेको छ । यसैगरी ३.३२ कि.मि. सडकको नयाँ ट्रयाक खोलिएको छ भने ५.३७ कि.मि. सडक ढलान भएको छ । यस्तै २ वटा झोलुङ्गे पुल वृहत मर्मत गरेको छ भने १ वटा स्ल्याब कल्भर्ट निर्माण भएको छ । यसरी कार्यालयले सम्पन्न भएका आयोजनाहरूको पुँजीगत बजेटबाट ७५.७५ प्रतिशत वित्तिय प्रगति गरेको छ ।
विभिन्न चुनौतीका बावजुद पनि जिल्लाको सडक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको सडक पूर्वाधार विकास कार्यालयका निमिक्त प्रमुख गोपिराज पुनमगरले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो । कार्यालयमा जनशक्ति अभावकाबीच पनि कर्मचारीहरूको निरन्तर खटाई र कार्यालयको कुशल व्यवस्थापनले उलेख्य प्रगति हासिल गर्न सकिएको विज्ञप्तिमा भनिएको छ ।
कार्यालयले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका ९ वटा बहुवर्षीय आयोजनामध्ये ८ वटा आयोजनाहरू यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएका बहुवर्षीय आयोजनाहरू रामपुर–कपुरकोट सडक अन्र्तगतको सन्धिखक–धारापानी–चुजाठाँटी खण्ड, च्यानडाँडा–डिभर्ना–खन–खनदह–डाँडाकटेरी सडक, डिभर्ना–जर्रेखोला–धारापानी–छत्रगञ्ज सडक, सन्धिखर्क–बल्कोट–तम्घास सडक, घुम्ती–तिनगिरे सडक, सन्धिखर्क–गच्छे–ढिकुरा–धनचौर–जुकेना–जलुके–लामाताल–बडिदमार–चैते–रामपुर सडक, गुडुङखोला पुल, पत्थरकोट–हर्रे सडक, कुडुले–हगनी–बागीखोला बक्स कल्भर्ट निर्माण, कोदालेखोला पुल रहेका छन् ।
कार्यालयले आ.व.२०८१/०८२ मा विनियोजित भएको बजेटबाट स्वीकृत भई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ । साथै चालु आ.व.२०८२/०८३ का लागि स्वीकृत कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयनका गर्नका लागि सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक नेतृत्वबाट निरन्तर साथ, सहयोग र समन्वयको अपेक्षा समेत गरेको छ ।











